काठमाडौं, चैत १६ । नेपाली कांग्रेसका युवा नेता तथा अर्थविद डा.स्वर्णीम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्न लागेको चर्चा ब्याप्त छ। उनले रास्वपामा प्रवेश गरेर तनहुँ-१ मा उम्मेदवारी दिने चर्चा राजनीतिक बजारमा चुलिएको छ ।
अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाउनुभएको छ । वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वय सँगै नेताहरू शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताउनु भएको छ।
उनको रास्वपा प्रवेशको चर्चासँगै नेपाली कांग्रेसले रोक्न आन्तरिक गृहकार्य समेत थालिसकेको छ। कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले रास्वपा प्रवेश गर्न नदिन उनीसँग छलफल थालेका छन् । कांग्रेसका महामन्त्री थापा निकट मानिने वाग्ले निर्वाचनमा कांग्रेसको घोषणापत्र लेखन समितिमा रहेर काम गरिसकेका हुन् । गएको निर्वाचनमा कांग्रेसबाट चितवनमा उम्मेदवारीको आकांक्षा ब्यक्त गरेका उनले चुनवामा टिकट पाउन सकेनन् ।
सोही कारणले यसपाली तनहुँ-१ मा यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा रास्वपामा प्रवेश गरेर उम्मेदवारी दिन लागेको बताइएको छ। रास्वपाका प्रवक्ता मुकुल ढकालले वाग्लेसँग पार्टी प्रवेश र तनहुँ-१ मा उम्मेदवारी दिनेबारे छलफल भइरहेको बताउँछन् । उनले केही दिनमै परिणाम आउनेमा विश्वस्त रहेको बताए ।
‘आन्तरिक छलफल भइरहेको छ तर अझै परिणाम आइसकेको छैन,’ उनले भने,‘ केही दिनमा उहाँको उम्मेदवारी बारे निक्र्योल हुने सम्भावना प्रबल छ ।’ प्रवक्ता ढकालले वाग्लेसँग नियमित छलफल भइरहेको जानकारी दिए । उनले १/२ दिनमै वाग्ले रास्वपामा प्रवेश गर्ने बारेमा यकिन हुने जिकिर गरे ।