Kath khabar
भारतबाट गड्डाचौकी नाका हुँदै घर फर्किनेमा देखिन थाल्यो कोरोना


               दोधारा चाँदनी,  चैत १७ । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ ।     

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना संक्रमण देखिन थालेको छ । भारतबाट आएका दुई जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने ।

संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड-१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । “अहिले एक/दुई जनामा संक्रमण देखिन थालेको छ”, पन्तले भने, “यहाँ कोभिड-१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड-१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । “अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ”, उनले भने, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।”

नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको संख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार ५४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार ७८५ जनाले दोस्रो मात्रा लगाएका छन ।

त्यसैगरी दुई लाख १६ हजार ६६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको संख्या घटेको छ”, पन्तले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update