काठमाडौं, चैत १७ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । आज बिहान राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्तामा भएको छलफलपछि दिउँसो ३ बजे शपथको तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डामा सहमति गरेको थियो । सोहिअनुसार नेपाली कांग्रेसबाट ८ मन्त्री, माओवादी केन्द्रबाट १, एकीकृत समाजवादी र जसपाबाट २/२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट १/१जना मन्त्रीले शपथ लिनेछन् ।
कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् । उपप्रधान तथा रक्षामा पूर्णबहादुर खड्का, सामान्य प्रशासनमा धनराज गुरुङ, शहरी विकासमा एनपी साउद, भूमि व्यवस्थामा सीता गुरुङ, न्याय, कानुन तथा संसदीय मामिलामा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामा मोहनबहादुर बस्नेतको टुंगो लागेको छ।