काठमाडौं, चैत १९ । को-पाइलटको स्वास्थ्यमा समस्या हुँदा काठमाडौं-दुबई-काठमाडौं उड्ने नेपाल एयरलाइन्सको वाइडबडी जहाजको उडान रोकिएको छ । उक्त उडान रोकिँदा दोहोरो उडानका गरि ५४३ भन्दा बढी यात्रुहरु अलपत्र परेका छन् ।
विमानको को-पाइलटलाई पेट दुखेर पखाला लागेपछि शनिबार राती दुबई उड्न लागेको उडान रद्द भएको हो । विकल्पमा अर्को पाइलट उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा डिले हुन पुगेको छ । उक्त विमानका लागि क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्टको तालिका थियो । तर को-पाइलट विष्टलाई पखाला लागेको कारण उनी उडान भर्न असमर्थ रहेको बताईएको छ ।
उडान नम्बर-आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको छ । सोहि उडानमार्फत दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौं आउने उडान पनि रद्द हुँदा उक्त उडानका यात्रुलाई समेत निगमकै खर्चमा होटलमा राखिएको छ ।