काठमाडौं, चैत २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।
सिन्धुलीका युवराज पौडैल 'सफल' ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको छ । नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने युवराज पौडेलको माग रहेको छ ।
रिटमा भनिएको छ, “दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न माग गर्दछु ।”
रविले आज सोमबार मात्रै चितवन क्षेत्र नम्बर २ उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।