Kath khabar
अयोध्याका ऋषि सिंह बने  ‘इन्डियन आइडल १३’ को विजेता

 

                    मुम्बई, चैत २० । भारतको उत्तर प्रदेशस्थित अयोध्याका ऋषि सिंह ‘इन्डियन आइडल १३’ को विजेता भएका छन् ।

विगत ६ महिनाभन्दा बढी समयदेखि चलिरहेको उक्त शोको फाइनल प्रतियोगिता हिजो सम्पन्न भएको थियो  । शोको फाइनलमा कोलकाताका विदिप्ता चक्रवर्ती, सोनाक्षी कार र देबोस्मिता रोय, जम्मू कश्मीरका चिराग कोतवाल र वडोदराका शिवम सिंह थिए । प्रतियोगितामा देबोस्मिता रोय फस्ट रनर अप भइन् र चिराग कोतवाल सेकेन्ड रनरअप भए  ।

ऋषि सिंहले ‘इन्डियन आइडल १३’ को ट्रफीसँगै २५ लाख नगद र मारुति सुजुकी ब्रेजा जेडएक्सआई कार जितेका छन् । फस्ट रनरअप देबोस्मिता रोय र सेकेन्ड रनरअप चिराग कोतवालले ट्रफी र ५/५ लाखको चेक प्राप्त गरे । तेस्रो र चौथो उपविजेता बिदिप्ता चक्रवर्ती र शिवम सिंहलाई तीन/तीन लाख रुपैयाँको चेक प्रदान गरिएको थियो । फाइनलमा पुग्ने सबैलाई १ लाखको चेक र गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

सिंहले ‘इन्डियन आइडल १३’ को ट्रफी जितेकोमा खुशी व्यक्त गर्दै भनेका छन्– ‘म अझै पनि विश्वास गर्न सक्दिन कि मैले ‘इन्डियन आइडल १३’ को ट्रफी जितेको छु । जब मेरो नाम यस सिजनको विजेताको रूपमा घोषणा गरियो, मेरो खुशीको सीमा रहेन ।

सिंहले च्यानल, निर्णायकहरू र इन्डियन आइडलको सम्पूर्ण टोलीप्रति आभारी प्रकट गर्दै भोट दिनुहुने प्रशंसक र दर्शकहरुलाई पनि धन्यवाद भनेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update