काठमाडौं, चैत २१ । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उप-निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलबारका लागि समय तोकिदिएको हो ।
आगामी बैशाख १० गते हुने उप-निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका चितवन-२, तनहुँ-१ र बारा-२ का उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उजुरीउपर चैत्र २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । सोमबार तनहुँ-१ मा ९ जना, चितवन-२ मा २४ जना र बारा-२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उप-निर्वाचनका लागि मतदान गर्ने कार्यतालिका रहेको छ ।