काठमाडौं, चैत २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न सबै नागरिकलाई अनुरोध गरेको हो ।
मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि.१.१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ ।
कोभिड-१९ को महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई मन्त्रालयले आग्रह गरेको छ । शून्यमा झरेको कोरोना भाइरसको संक्रमणण अहिले बढिरहेको छ । सोमबार मात्रै ७६ जनामा नयाँ संक्रमण र सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।