काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेलले दायर गरेको मुद्दाको रिटमाथि सुनुवाइ रोकिएको छ ।
लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाई न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यहि इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।
पौडेलले सोमबार लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका छन् । सोहि रिटको सुनुवाइको लागि पेशी आज तोकिएको थियो ।
लामिछानेको उम्मेदवारी खारेज फेरी अर्को पनि उजुरी
वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेविरुद्ध युवराज पौडेल 'सफल' ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा फेरी अर्को पनि उजुरी दिएका छन् ।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना सम्म उम्मेदवार बन्न अयोग्य रहेको भन्दै रविको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराजले उजुरी दिएका हुन् ।