Kath khabar
बिस्का जात्राको तयारीः टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण हुँदै

 

यो समय काठमाडौं उपत्यका जात्रामय हुने बेला हो । यतिखेर उपत्यकाका तीनैवटा जिल्लामा कुनै न कुनै दिन जात्रा पर्व चलिरहेकै छ। काठमाडौँमा रातो मच्छिन्द्रनाथको रथयात्राको शुरूवाती तयारी भैरहँदा भक्तपुरमा  बिस्का जात्राको तयारी तीव्र गतिमा चलिरहेको छ।

न्यातपोल मन्दिर रहेको टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण भइरहेको छ। चैत २७ गतेभित्रै काठैकाठले प्यागोडाशैली रथ निर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको छ। अहिले रथमा काठको कामका साथै रङ्ग लगाउने काम भइरहेको छ।

अहिले टौमढी पुग्ने पर्यटकहरु रथसँगै तस्विर खिचिरहेको देख्न सकिन्छ। साथै, विद्यालय बिदा हुँदा बालबालिका समेत भेला भएर जात्राको तयारीमा लागेको देख्न सकिन्छ। जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गः हिटीमा पुर्‍याइ जात्रा सम्पन्न गरिन्छ। रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ।

जात्राको दोस्रो दिन शून्य भनिन्छ। तेस्रो दिन गः हिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपूजाको मासु प्रसादका रूपमा ‘लाकुला छेवासी’लाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ। बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) यसीं उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो यसीं उभ्याइन्छ।

यसीं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि न्हेसटो (७ सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ।  बैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते यसीं ढालिन्छ। यसीं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवत रूपमा पूजा गरिन्छ। ढालिसके पछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्‍याइ एकाआपसमा जुधाइन्छ। जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ। यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ। यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमा सहितको पूजा गरी सगुन जात्रा मनाइन्छ। जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ। यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई टौमढीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update