Kath khabar
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ

 

                   जेरुसेलम, चैत २२ ।  पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा ३५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ।

मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ। हातमा लाठी लिएका उनीहरूले कानुन उल्लङ्घन गरेका र विष्फोटक सामग्री समेत बोकेका प्रहरी प्रवक्ताले बताएका छन्।

मस्जिदको शान्ति सुव्यवस्था कायम गर्न बाध्य भई प्रहरी त्यहाँ प्रवेश गरेको उनले स्पष्ट गरेका छन्। नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन्।

जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिद भित्र बुधबार बिहानै देखि झडप भएको बताएका छन्। मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन्। हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिक रूपमा उपस्थित हुन आह्वान पनि गरेको थियो। रमजानको पवित्र महिनमा हजारौँ भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन्।

अल अक्सामा झडप भएपछि उत्तरी गाजापट्टीबाट इजरायली क्षेत्रतर्फ धेरै रकेट प्रहार भएका थिए। इजरायली सेनाले गाजापट्टीबाट प्रहार भएका ५ वटा रकेटलाई देशको हवाई रक्षा प्रणालीले रोकेको र अन्य ४ वटा निर्जन स्थानमा खसेका जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update