काठमाडौं, चैत २२ । चितवन-२ को उपनिर्वाचनमा लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ‘सफल’ले दिएको उजुरी नलाग्ने भएको छ ।
मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई फेरि नागरिकता लिएको भन्दै पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए।
लामिछाने विरूद्ध पौडेलबाहेक चितवन–२ मै उम्मेदवारी दिएका अरू तीनजनाले पनि उजुरी दिएका छन्। उजुरी दिनेहरुमा स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदी छन् । उनीहरुले निर्वाचन कार्यालयमा गएर उजुरी दिएका थिए ।
उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेका थिए ।
यस्तै सभापति रवि लामिछानेले आज आफूविरुद्ध परेको उजुरीको विषयमा छ पेज लामो स्पष्टीकरण बुझाएका थिए । लामिछानेले आज दिउँसो १ बजेसम्म उक्त दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनै पर्ने थियो।