भैरहवा, चैत २३ । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारा सहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ। अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिला पुरुष खेलाडी मैदानमा उत्रिएका छन्। पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर घले, बिमला राना र मोहन घलेलाइ दिएर प्रतियोगिता सुरु गरेका हुन्। उनी एकेडेमीका संरक्षक पनि हुन्, मायादेवी मन्दिर अगाडिबाट सुरु भएको म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन्।
प्रतियोगितामा महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ। प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन्। दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ।