मकवानपुर, चैत २४ । हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएको फोहोरबाट फर्निचर लगायतका सामाग्री उत्पादन गर्न सकिन्छ भन्दा जो कोही पत्याउन नसक्लान् । तर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११ नवलपुरका ९ जना युवाले फोहोर प्लाष्टिकबाट फर्निचर लगायतका सामग्री निर्माण गरेर बिक्री गर्दै आएका छन् ।
नवलपुरमा इकोफ्याक्ट्री प्रालि नामक कम्पनी खोलेर ९ जना युवाहरुले फोहोरलाई व्यावस्थापन संगै घर बाहिर चाहिने हरेक सामान उत्पादन गर्दै आएका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उत्पादन भएको फोहोरको प्लाष्टिक खरिद गरेर फर्निचरका सामानहरु खाट, टेबल, कुर्सी, पलङ लगायतका सामाग्री र ब्लक, टायल, इन्टरलक उत्पादन गरेर बिक्री गर्दै आएको कम्पनिका संचालक दिपक उप्रेती बताउनुहुन्छ ।
फोहोरलाई व्यावस्थापन गरेर सामग्री उत्पादन गर्न थालेको ३ वर्ष भइसक्यो । घाम, पानीले समेत वर्षौसम्म केही गर्न नसक्ने सामग्रीहरु ३० वर्षको ग्यारेन्टी समेत दिएर बिक्री वितरणको काम गर्दै आएको उप्रेती बताउनुहुन्छ ।
फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो उद्योग खुलेको हो । तिर, हेटौंडा उपमहानगरपालिकाबाट अहिलेसम्म कुनै पनि सहयोग नपाएको उहाँको गुनासो छ । फोहोर व्यावस्थापनका लागि सहयोग गर्नुको साटो फोहोर समेत स्थानीय सरकारले उपलब्ध गराउन चासो दिएको उहाँले गुनासो गर्नुभयो ।
२ करोड १८ लाख रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । हेटौंडा सँगै युवाहरुले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा पनि फोहोरलाई संकलन गरेर सामग्री उत्पादन गर्ने भएका छन् । गाउँ र शहरका फोहोरलाई सुन्यमा झार्ने उद्देश्यका साथ उद्योग खालेको अर्का सञ्चालक रुपेशराज कुँवर बताउनुहुन्छ । ८ जना युवाले फोहोरबाट सामग्री उत्पादन गर्ने भनेर खोलिएको उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ ।
प्रदेश युवा परिषद्ले बितेको आर्थिक वर्षमा यस उद्योगका लागि ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । युवाहरुले फोहोरलाई व्यावस्थापन गर्दै फर्निचर, ब्लक, इन्टरलक लगाएतका सामाग्री उत्पादन गरेकाले थोरै भने पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ३ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं बताउनुहुन्छ ।