काठमाडौं, चैत २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति असहमति जनाएको छ ।
पार्टीका महासचिव मुकुल ढकालले अहिले नेकपा (एमाले) लगायत गठबन्धन सरकारका कार्यक्रमका धेरै विषय छुटेको भन्दै पार्टीले असहमति व्यक्त गरेको बताए । शुक्रबार बिहान बसेको राप्रपा संसदीय दलको अनौपचारिक बैठकले सरकारको नेकपा भ्रष्टाचार नियन्त्रणमा नरम रहेको निष्कर्ष निकालेको हो ।
‘नयाँ नीति र कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम छ’, सञ्चारकर्मीसँगको कुराकानीमा ढकालले भने, ‘बलात्कार जन्य घटनाको छिटो छिनोफानो, बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवासिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन् ।
न्यूनतम साझा कार्यक्रमले विदेशमा बस्ने नेपालीको मतदानको अधिकार, सरकारी सेवामा टाइम कार्ड, गुणस्तरीय रोजगारमूलक शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐनलगायतका विषयलाई समेटेपनि तिनीहरू अमूर्त, लक्ष्यहीन र एकपक्षीय रूपमा देखिएको ढकालको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गरेपनि रास्वपाले असहमति जनाएको हो। यसअघि राप्रपाले पनि सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेको छ ।