काठमाडौँ, २७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का सङ्क्रमितको उपचार लागि पाउने सेवाको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको निःशुल्क सेवा विवरणमा सङ्क्रमितको उपचारदेखि खानासम्म निःशुल्क अस्पतालले सेवा दिनुपर्ने उल्लेख गरिएको छ ।
मन्त्रालयले ८३ वटा सरकारी, निजी, सामुदायिक र सहकारी अस्पतात सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कतिपय अस्पतालले सङ्क्रमितको उपचारमा शुल्क लिएको पाइएकाले निःशुल्क उपचार सहितको सेवा पाउने विवरण सार्वजनिक गरेको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितको निःशुल्क उपचारसँगै सामान्य ११ प्रकारका रगत परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधीहरू, बिरामीका शय्या शुल्क र खाजाखानासहित चार छाक अस्पतालले निःशुल्क उपलब्ध गराउनुपर्ने हुन्छ ।
यस्तै आइसियुमा रहेका बाहेकको बिरामीमा पिसीआर, रेम्डेसिभर, प्लाज्माथेरापी, सिटी स्क्यान र हायर एन्टिवायोटिक्सको भने बिरामीले शुल्क तिर्नुपर्ने हुन्छ । मन्त्रालयले उल्लेख गरिएका विवरण बिरामीले नपाएको खण्डमा कुनै पनि अस्पताललाई शोधभर्ना उपलब्ध नगराउने, निःशुल्क कोभिड-१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाइने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानूनअनुसार अस्पताललाई कारवाही गर्ने प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।
सरकारले कोभिड-१९ का सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई रु. तीन हजार ५०० प्रतिदिन, मध्यम बिरामीका लागि रु सात हजार प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई रु १५ हजार प्रतिदिन तोकेको छ । सोहीअनुसार सङ्क्रमितको उपचार गर्ने अस्पताललाई मन्त्रालयले सोध भर्ना दिने गरेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पतालाई कारवाही गर्ने बताएको तर मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ । नेपालमा अहिलेसम्म छ लाख एक हजार ६८७ जना सङ्क्रमित, पाँच लाख १५ हजार ५९१ निको र आठ हजार २३८ को सङ्क्रमणको कारणले निधन भइसकेको छ । (रासस)