काठमाडौं, चैत २४ । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरित मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहरुमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधानसम्मत ढंगले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराइन् ।
‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडाहरुमा परिपत्र गरेको छ, संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ । परिपत्रले संविधान र कानुनले सावित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्विकार गरेको छ । संविधान र देवानी संहिता अनुसार पुन: परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।
संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरुको जन्मदर्ता उनीहरुको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद भट्टराईको जोड छ।