Kath khabar
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा

 

                 ललितपुर, चैत २५ । ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा त्यस वरपरका केही घरहरू भासिएका छन् ।

समिट अपार्टमेन्ट बनाउन डोजर लगाए जग खन्दा वरपरका घरहरु भासिएका हुन् । अपार्टमेन्ट निर्माणस्थल वरपरका २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने बाँकी ६ वटा भन्दा बढी घर जोखिममा परेको ललितपुर प्रहरीले जनाएको छ ।

नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन ।

जमिन भासिँदा बन्दै गरेको एउटा पाँचतले भवनको एकतला पनि भासिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी गराएका छन् । घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो । निर्माणाधीन भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिसहरू घाइते भएका छन् ।

घटनामा कुनैपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, ललितपुरका एसएसपी सिद्धिविक्रम शाह, सांसद उदयशम्शेर राणा, ललितपुरकी सांसद डा. तोसिमा कार्कीलगायतले सो स्थानको अवलोकन गरेका छन् । स्थानीयका अनुसार अपार्टमेन्ट निर्माणको लागि वर्क पर्मिट लिइएको छैन ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update