रुकुम, चैत २६ । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दुई दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो ।
एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले शंकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार हत्या भएका दुई बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए । त्यही गहनाकै लोभमा बालिकाहरुको हत्या गरेको हुनसक्ने बताएको छ ।
दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।