Kath khabar
भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजबाट सुरु हुँदै

 

                     भक्तपुर, चैत २७ । भक्तपुरमा आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा सोमबारबाट सुरु हुँदैछ । सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिन्छ ।

काठमाडौं उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्काः जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ । लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ । यस्तै, वैशाख ५ गते पनि भैरवनाथको रथ तानेर समापन गरिन्छ ।

बिस्कोः जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य सुरूको दिन टौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिङ्गो ठड्याउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथलाई तानेर मनाउने गरिन्छ ।

बिस्काः जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update