भक्तपुर, चैत २७ । नयाँवर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव - २०७९/८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्याण्डको आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव भइरहेको छ ।
भक्तपुरको अरनिको राजमार्गसँगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गामा जारी महोत्सवमा २ सयभन्दा बढी स्टल रहेका छन् । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरुले आजसम्म करिब २ करोड रुपैयाँ कारोबार गरेका छन् ।
स्टलहरुमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, बिभिन्न प्रकारका लत्ताकपडा, सवारीसाधान लगायतका स्टलहरु रहेका छन् । हामीले हरेक सामाग्रीमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं, अध्यक्ष महतले भने । पाचौँ दिनसम्म आम सर्वसाधारणमा महोत्सवमा उल्लेखनिय सहभागिता रहेको र धेरै अवलोकनकर्ताहरू अधिकांश स्टलमा गएर उत्सुकता दिएर हेर्नु भएको छ, उनले भने ।
महोत्सवमा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक र हास्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेको औद्योगिक शान्ति नेपाल संस्था अध्यक्ष सन्दिप महतले बताए । आयोजकले प्रवेश शुल्क रु.५० र ७० तोकेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरेको छ ।
यो महोत्सव २०८० साल बैशाख ३ गतेसम्म आयोजना हुने संयोजक दीपक थापाले जानकारी दिएका छन् ।