काठमाडौं, चैत २७ । राष्ट्रियसभाको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ सर्वसम्मत पारित गरेको छ।
सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसालले प्रस्तुत गरेको उक्त बिधेयकलाई सर्वसम्मत पारित गरिएको हो।
त्यस्तै बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ लाई पनि पारित गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब सन्देश सहित प्रतिनिधि सभामा पठाइनेछ। प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्र नारायण देव, डा. विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिएका थिए।
त्यसअघि प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले बिधेयकलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिएका थिए भने मन्त्री भुसालले बिधेयकहरुलाई प्रतिनिधिसभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने धारणा राखेका थिए।
त्यस्तै बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक २०७८/७९ प्रतिवेदन प्रस्तुत गरे।
राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार बोलाइएको छ।