Kath khabar
बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा : प्रधानमन्त्री

 

               काठमाडौं, चैत २८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताउनु भएको छ ।

मङ्गलवार उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर कम गर्ने र राजस्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग आफू छलफलमा रहेको बताउनुभयो । उहाँले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आउँदो वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय सहितका योजना समावेश गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा छौँ । अर्थतन्त्रको समस्या समाधान गर्नेबारेमा हामीले छलफल गरेका छौँ र सकारात्मक दिशा दिने पूरै प्रयास गरेका छौँ । यो बीचमा गरिएका कामहरू केही राजनीतिक उत्तार चढावका कारण जति तीव्रताका साथ जानुपर्ने हो, त्यति जान सकेको छैन । अलि अप्ठेरो परेकै हो तर अब परिस्थिति फेरिएको छ । हामी बैंक ब्याजदर कम गर्ने र राजस्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग घनीभूत छलफलमा छौँ ।’ 

प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको ३ महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताउँदै अहिले देशसँग झन्डै ११ महिना पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले लगानी मैत्री एवम् व्यवसाय मैत्री वातावरणका लागि सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद भएको बताउनुभयो । उहाँले सरकार आउँदो आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update