अफगानिस्तान, चैत २८ । देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा २ जना बालबालिकाको मृत्यु भएको छ ।
हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ । दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ ।
गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विष्फोट हुँदा १ जना बालकको मृत्यु भएको थियो भने अर्का १ जना घाइते भएका थिए । ४ दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।