सिन्धुली, चैत २९ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढीगेटनजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए । गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी रहेको उनले बताए । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् ।
मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले बताए । राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन ।
‘त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ’, उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए ।