काठमाडौं, चैत ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्नी निकिताविरुद्धको पोस्टहरु नहटाए कडा कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा कोर टिमको नाममा लामिछानेकी पत्नी निकिताको पनि नाम जोडिएर समाचार आएपछि लामिछानेले आक्रोश पोखेका छन् ।
आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा लिनु दिनु केही नराख्ने पत्नीविरुद्ध अनावश्यकरुपमा खनिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । यसरी बिना आधार बिना प्रमाण गरिएको आक्रमणको हिसाब राखेको बताउँदै निराधार राखिएका त्यस्ता समाचार तथा पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् ।
एक आफैमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उस माथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौ। प्रिय Nekita Poudel Lamichhane बिना कारण तिमीले सह्नु परेको बद्नामी र तनाव प्रति कायरहरुको तर्फबाट म क्षमा चाहन्छु। न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं। I Love you.