इलाम, चैत ३० । विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ। संरक्षणको कार्यक्रम अघि बढाइएसँगै इलाममा रेडपाण्डा हेर्न आउनेको संख्या बढेको हो। इलामको पर्यटकीयस्थल छिन्टापुमा रेडपाण्डा अवलोकनका लागि पुग्ने पर्यटकको संख्या बढेको सन्दकपुर गाउँपालिका-२ का वडाध्यक्ष सनम राईले बताए। सन्दकपुर गाउँपालिकाको रेडपाण्डा पर्यटन क्षेत्रमा घोषित पर्यटकीय क्षेत्र छिन्टापुमा अहिले रेडपाण्डाको सहजै अध्ययन र अवलोनक गर्न सकिन थालेको छ।
घना जंगलको बिचमा रहेको छिन्टापुमा रेडपाण्डा अवलोकनका लागि आन्तरिक र भारतको कलकत्ताबाट पर्यटक आउने गरेका छन्। संघीय सरकारले माइपोखरी देखि छिन्टापु सन्दकपूर ढापपोखरी पर्यटन पदमार्ग निर्माण गरेकाले पर्यटकलाई सहज भएको राईले बताए।
छिन्टापु समुन्द्र सतहबाट ३,३०० मिटरको उचाइमा छ। साइटिस महासन्धिको अनुसूची १ र आईयूसीएनको रातो किताबमा पनि रेडपाण्डालाई अति सङ्कटापन्न सूचीमा राखिएको छ। हाल नेपाल, भारत, चीन, भुटान र म्यानमारमा गरी १० हजार जति रेडपाण्डा छन्। नेपालमा ५०० को हाराहारीमा रेडपाण्डा रहेको रेडपाण्डा नेटवर्कको तथ्यांक छ। पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम लगायतका पहाडी जिल्लामा यो अधिक पाइन्छ।
बाँस र निगालो प्रजातिको घाँस खान रुचाउने रेडपाण्डा वन फडानीका कारण बाँस निगालो लोप हुँदै गएपछि आहाराको खोजीमा मानव बस्ती नजिक आउन थालेको छ। सोझो भएकाले गाउँका कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्छ। पूर्वी पहाडका रेडपाण्डा पाइने जिल्लामा संरक्षणका विभिन्न प्रयासहरू जारी छन्। इलाम, ताप्लेजुङ र पाँचथरलाई विश्वकै पहिलो रेडपाण्डा संरक्षित क्षेत्र बनाउने कार्य अघि बढेको छ। रेडपाण्डाको संरक्षणका लागि सरकारी र गैरसरकारी संस्थाबीच सहकार्य भइरहेको छ।
विश्वमै लोपुन्मूख रहेको रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिकाले वृक्षारोपणको कार्यक्रम अघि बढाएको छ। पालिकाले टप्पुमा रेडपाण्डा प्रजनन केन्द्र नै स्थापना गरेर संरक्षणको कार्य अघि बढाएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए।
सन्दकपुर गाउँपालिका १, २ र ३ माईपोखरी, सुलुबुङ र माइमझुवाको संगमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो। कुकुर र जंगली जनावरका शिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपाण्डा उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो। विगतमा चोरी तस्करी हुने गरेको रेडपाण्डाको संरक्षणका लागि ट्यापिङ क्यामरा जडान पछि चोरी तस्करीमा नियन्त्रणमा आएको राईले जानकारी दिए।
टप्पु क्षेत्रमा रहेको करिब २ हेक्टर जमिनमा केन्द्र स्थापना गरिएको हो। प्रजनन केन्द्रभित्र अहिले सल्ला प्रजातिका रूख बिरुवा रहेकाले उक्त प्रजातिका रूख बिरुवा वनको नियमअनुसार हटाएर रेडपाण्डाको आहारा मालिङ्गो र भालुचिण्डेलाई विस्तार गरिएको छ।
रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्न निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण समेत गरिएको छ। रेडपाण्डाको चरिचरन तीव्र भएको र वनजंगल विनास भएसँगै निजी आवादीमा रेडपाण्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो। रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले डिभिजन वन कार्यालयको रोहबरमा रेडपाण्डाको आहाराका रूपमा रहेको वनस्पति मालिंगो टेंगा, कुलिंगा चिमाल, वान्टे, भालुचिन्डे गुँरास जस्ता वनस्पति लगाइएको छ। सरकारले रेडपाण्डा संरक्षणका लागि सन् २०१९ देखि २०२३ सम्म पाँच वर्षे कार्ययोजना बनाएको छ। सोही कार्यक्रमका लागि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सस्थासँगको साझेदारीमा संरक्षण र अनुसन्धान मूलक गतिविधि सञ्चालन गर्दै आएको छ।
आकर्षक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रंगको हुन्छ। २ हजार मिटरभन्दा बढी उचाइमा पाइने रेडपाण्डा निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो। साइटिसको अनुसूची १ र आईयूसीएनको रातो किताबमा अति संकटापन्न सूचीमा सूचीकृत छ। विकास निर्माण,परम्परागत पशु प्रणाली, वासस्थान विनास, कुकुरको आक्रमण, आहाराको विनाश अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनमा उल्लेख छ।
१७ प्रकारका बाँस र निगालो प्रजाति रेडपाण्डाको मुख्य आहार हो। तीव्र वन फडानीका कारण बास र निगालो लोप भएपछि आहार खोजीका लागि रेडपाण्डा मानव बस्ती नजिकै आउन थालेको रेडपाण्डा नेटवर्कले जनाएको छ। अत्यन्त सोझो प्रकृतिको रेडपाण्डा सिकार गर्न सजिलो हुने भएकोले पनि कुकुर र अन्य जंगली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको सन्दकपुर गाँउपालिका-५ का वडा सदस्य कुमार गुरुङ बताउँछन्।