काठमाडौं, चैत ३० । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंका हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्न सरकारलाई भनेका छन् ।
शाहले सरकारसँग असन्तुष्टि पोख्दै भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’ । सिंहदरबार र राजधानी अन्त सार्दा काठमाडौंबासीलाई कुनै आपत्ति नरहने उल्लेख उनले गरेका छन् ।
‘हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनिती हैन,’ – उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
गत आइतबारबाट काठमाडौं महानगरले सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति निवास लगायत महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर उठाउन बन्द गरेको छ । यो निर्णयलाई लिएर प्रतिनिधि सभामासमेत वहस पनि भइसकेको छ ।
सरकारले भने फोहोर उठाउने जिम्मा स्थानीय सरकारको रहेको भन्दै कुनै पनि हालतमा फोहोर उठाउनुपर्ने बताउँदै आइरहेको छ ।