कञ्चनपुर, चैत ३० । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षण पछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँ समेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन ।
आयोजना अन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए।
“हामीले पानी सञ्चालनका लागि पटक-पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटन पछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ ”, उनले भने। उनले दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटनको टुङ्गो नलाग्दा नहरमा पानी सञ्चालन अन्योलमा परेको बताए।
टनकपुर ब्यारेजबाट नेपाल भारत सीमासम्म १ हजार २ सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना सङ्क्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो ।
आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्याउन समस्या हुने छैन । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा १ हजार क्युसेक र हिउँदमा ३ सय क्युसेक पानी पाउने उल्लेख छ ।