बाजुरा, चैत ३० । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका-३ बौडीका छपल थापाका ६ वर्षीय छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
लगातार ३ महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। उनका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा २ प्वाइन्ट मात्र रगत छ।
रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए ।
गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए।
उनका अनुसार गर्मीमा कालाजार, डेङ्गु लगायत रोगको जोखिम बढी हुने गरेको छ । यो सँगै जिल्लामा कालाजारका बिरामीको सङ्ख्या ५ पुगेको छ । यसअघि कोल्टीमा ४ जनामा कालाजार भेटिएको थियो।