चितवन, वैशाख ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जित नारायण श्रेष्ठ र नेकपा एमालेका राम प्रसाद न्यौपाने उम्मेदवार छन् ।
चुनाव प्रचारका लागि चितवन आएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए । ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रो पटक उपचुनाव हुन्छ’ नेता भट्टराई भन्छन्, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो ।’
उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताए । चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका राम प्रसाद न्यौपानेलाई सहयोग गर्न उनले अपिल गरे । रवि लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि न्यौपानेलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।