Kath khabar
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा

 

                पर्वत, वैशाख ३ । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ।

कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जन मात्र होइन, यसबाट आम्दानी समेत गरिरहेका छन्। यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनबाट दैनिक रु १० हजार आम्दानी गर्दै आएको छ।

बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समय देखि समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको ३ वर्ष पुगेको छ। नगर भित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले २ वर्ष देखि फोहरबाट आम्दानी गर्न थालेको हो। कुश्मा-४ छमर्केस्थित घुम्तीमा फोहर व्यवस्थापन गरिँदै आएको पालिकाले जनाएको छ।

जग्गा छनोटमा ३ वर्षसम्म सङ्घर्ष गरेको कुश्माले विसं २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीबाट ५ सय मिटर तल जङ्गल भित्रको खाली जग्गा फेला पारेको थियो। ३२ रोपनी जग्गा पालिकाले १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य ४ व्यक्तिसँग भाडामा लिएर फोहर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए। उनका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेट नेपाल)सँगको साझेदारीमा ५ वर्षे सम्झौता गरी फोहरको व्यवस्थापन भइरहेको छ।

नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहर सङ्कलन गरी व्यवस्थापन सुरु गरेको छ। केही समय गुप्तेश्वर बहुमुखी क्याम्पसको छेवैमा पोखरा-बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहर विसर्जन गर्दा स्थानीय र सरोकारवालाले विरोध गरेपछि नगरले विकल्प खोजेको थियो। त्यसरी फालेको फोहर सिधैं कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पर्ने गरेको जनाउँदै पुनरावेदन अदालत बागलुङमा रिट निवेदन परेपछि जग्गा भाडामै लिएर व्यवस्थापन गरिँदै आइएको थियो। यसपछि आम्दानी समेत हुन थालेको नगरपालिकाले जनाएको छ।

कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ। सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिने भन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ। अहिले सेक्रेटले फोहर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ।

व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजारसम्म आम्दानी भइरहेको छ। आवश्यक मात्रामा जग्गा नहुँदा व्यवस्थापनमा केही समस्या भएको भुसालले जनाए। फोहर व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार र गाडीको व्यवस्थापन गरेको छ। फोहर व्यवस्थापन कार्यक्रम सुरु भएपछि कुश्मा बजार सफा र चिटिक्क देखिएको छ।

नगर भित्रका विभिन्न होटल व्यवसाय तथा स-साना उद्योग कलकारखानाबाट निस्किने सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा जिल्लाको फलेवास नगरपालिकालाई समस्या देखिएको छ। अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले प्लाष्टिकजन्य फोहर जलाउने गरेको भए पनि सिसाजन्य फोहर व्यवस्थापनमा समस्या भएको नगरका प्रवक्ता अच्युत तिवारीले बताए।

मदिरा तथा सर्वसाधारणले प्रयोग गर्ने औषधिका बोतल व्यवस्थापन सहज नहुँदा नगर भित्र वातावरणीय प्रदूषण बढ्दो छ। फलेवासले गत वर्ष सिसाजन्य फोहर सङ्कलन गरी खाडल खनेर दबाएको जनाएको छ। तर उक्त प्रक्रिया पनि दिगो र भरपर्दो हुने नदेखिएपछि चालु वर्ष उक्त कार्यक्रम सञ्चालन गरेको छैन। पर्वतको जलजला र पैंयु गाउँपालिकाले पनि फोहर वर्गीकरण गरेर सङ्कलन तथा व्यवस्थापन गर्न थालेका छन्।

मोदी गाउँपालिकाले फोहर व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गमा पर्ने पातीचौर बजार, नजिकै रहेको मोदीखोला र पातीखोला दुर्गन्धित बन्दै गएका छन्। फोहर व्यवस्थापन योजना कार्यान्वयनको चरणमा रहेको मोदीका उपाध्यक्ष विमल लामिछानेले बताए।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update