काठमाडौं, वैशाख ३ । हाल केही दिन यता देखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ। डढेलोकै कारण काठमाडौं उपत्यका सहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ।
विभागका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन्। काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ। आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौं दोस्रो सूचीमा रहेको हो।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ। काठमाडौंको एक्यूआई अहिले १ सय ९२ छ।
सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ। च्याङमाइको एक्यूआई २ सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ।
५१ देखि १०० एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ। त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई ३०० भन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ।
त्यसैगरी वायु प्रदूषणले पोखराको मौसम बिग्रिँदा उडान अवतरण दुई दिनदेखि प्रभावित भएको छ । धुवाँ–धुलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान २ दिनदेखि रोकिएको छ ।
गत शुक्रबारदेखि मौसम बिग्रिएर भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको हो । विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भए पनि ३७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ, अहिले २ हजारमात्रै छ ।
‘आँखाले धुवाँ धुलो देखिँदैन । तर, त्यसले अगाडि हेर्ने दूरी घटाउँछ । ३७ सय मिटरभन्दा कम भयो भने उडान हुन सक्दैन,’ उनले भने, ‘आजको अवस्थ हिजोभन्दा राम्रो हुने देखिन्छ । ३-४ बजेसम्म उडान हुन्छ भन्ने आस गरेका छौँ ।’
बिहीबार राति पोखरामै बसेका २ विमान शुक्रबार बिहान काठमाडौं उडेका थिए । त्यसपछि शुक्रबार दिनभर, शनिबार र आइतबार बिहानसम्म उडान हुन सकेको छैन । उडान नहुँदा नयाँ वर्षमा पोखरा घुम्न आउने र फर्किने पर्यटक प्रभावित भएका छन् । उडान हुने आशमा आज पनि यात्रु विमानस्थल पुगेका छन् । तर, उनीहरू पर्खेर बस्नुपरेको छ ।
उडान नियमित हुन आकाश सफा हुनैपर्ने अवस्था छ । ‘त्यो हट्न कि ठूलो हावा आउनुपर्छ । नभए आकाशबाट पानी पर्नुपर्छ । त्यो भयो भने धुलोको कण जमिनमा खसाल्छ,’ प्रमुख गौतमले भने ।
पोखराबाट बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले उडान भर्छन् । पोखराको विमानस्थलबाट दैनिक ६० उडान अवतरण हुने गरेको छ । पोखरा विमानस्थलबाट काठमाडौं, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, भरतपुर, जनकपुर, मुस्ताङ लगायत गन्तव्यमा उडान हुने गरेको छ ।