Kath khabar
‘प्रधानमन्त्री हराएको सूचना’ : रघुजी पन्तको कटाक्ष 

 

              काठमाडौं, वैशाख ३ ।  नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद पन्तले पछिल्लो पटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउदै कटाक्ष गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिमपटक बालुवाटारको छेउछाउ देखिएकोले संसदमा बुझाउन समेत आग्रह गरे।

त्यस्तै बैठकमा एमाले सांसद ठाकुर गैरेले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरे। उनले के र कुन कारणले व्यवस्थामा संकट परेको हो भन्ने बिषयमा संसदमा नै प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने धारणा राखे। गैरेले सवै चूनौती सामना गर्न संसद तयार हुनुपर्ने बताए।

त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले जनतामा भ्रम सिर्जना भएको बताए । उनले आफ्नो असक्षमतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्रीले झुटा तर्क गरिरहेको जिकिर गरे।

प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७७ र भ्रष्टचार निवारण पहिलो संशोधन विधेयक २०७७ का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो भने राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ५ गते बोलाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update