Kath khabar
सिंहदरबार भित्रको फोहर सिंहदरबारभित्रै व्यवस्थापन गरिंदै 

 

                काठमाडौं, वैशाख ४ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएको सोमबार १० दिन भइसकेको छ । तर पनि सिंहदरबार भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन ।

फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। सिंहदरबार भित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरेको हो । प्रालिका सञ्चालक मित्र घिमिरेका अनुसार सिंहदरबारबाट निस्किने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गरिरहेको हो ।

कुहिने फोहोर र पशुका चारा हुने फोहोर छ्ट्याएर फोहोर व्यवस्थापन सुरु गरेका छौं । कुहिनेलाई खाल्डोमा र पशुका चारा हुने फोहोर किसानलाई पठाइरहेका छौं,’ घिमिरेले भने, ‘नकुहिने फोहोरमा पुनः प्रयोग हुनेलाई छुट्याएर व्यवस्थापन गरिरहेका छौं भने पुनः प्रयोग नहुनेलाई सिंहदरबारका केन्द्रीय उद्यानमा डम्प गरिरहेका छौं ।’

सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update