काठमाडौं, वैशाख ४ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाइनँ, २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्य बहादुर पाइन रहेका छन् ।
विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर साटिदिन्छु भनी प्रलोभन देखाई ललितपुर हरिसिद्धीबाट १८ लाख रुपैयाँ, काठमाडौं चोभारबाट १८ लाख रुपैयाँ र ललितपुर इमाडोलबाट १० लाख रुपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।