काठमाडौं, वैशाख ४ । भारतीय टिभी च्यानल 'सोनी' बाट प्रसारण भइरहेको 'द कपिल शर्मा शो' केही समयका लागि बन्द हुने भएको छ।
पछिल्ला केही वर्षयता कपिल शर्माले कामबाट छोटो समयका लागि बिदा बस्ने बताउँदै आएका थिए। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार उनले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताउँदै आएका छन्।
कार्यक्रम बन्द भएको अवधिमा निर्माताहरूले पनि यसको स्वरूपमा केही परिवर्तन गर्ने र केही नयाँ कुरा थप्ने बताइएको छ।
'यसरी छोटो समयका लागि ब्रेक लिँदा पहिले पनि कार्यक्रमलाई पुनर्संरचना गर्न मद्दत पुगेको छ। त्यस्तै कमेडी आफैंमा मुश्किल विधा हो। कलाकारहरूलाई पनि एकोहोरो नहोस् भन्नका लागि ब्रेक चाहिन्छ। केही समय बिदा बसेपछि सबै जना फेरि ताजा भएर आउनेछन् र हामी नयाँ संरचनामा काम गर्न सक्नेछौं,' द कपिल शर्मा शो निकट स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ।
यो सिजनको कार्यक्रमको अन्तिम भाग कहिले प्रसारण गरिनेछ भन्नेबारे मिति भने तय भइसकेको छैन। तर आगामी मे महिना देखि बन्द गर्न सक्ने सम्भावना देखिएको छ। अर्थात् 'द कपिल शर्मा शो' जुन महिनासम्म चल्नेछ।
'कपिल शर्माको पनि अन्तर्राष्ट्रिय भ्रमणहरू तालिकाबद्ध छन्। त्यसैले पनि हामीले ब्रेक लिने निधो गरेका हौं,' स्रोतले भनेको छ, 'त्यसैले टिमले अहिले नै धेरै भागहरूको सुटिङ सक्ने गरी काम भइरहेको छ। ताकि पछि धेरै समय दर्शकलाई कार्यक्रम प्रसारण नभएको अनुभूति नहोस्। तर कति समय ब्रेक लिने भन्ने पनि अहिले निधो भएको छैन।'
कपिलले सन् २०२१ र २०२२ मा पनि यस्तो बिदा लिएका थिए। नयाँ सिजनको कार्यक्रम आउँदा नयाँ कलाकाहरू सहभागी गराइएको थियो। तर पछिल्लो बिदाबाट नयाँ सिजन सुरू गर्दा कार्यक्रमका चर्चित कलाकारद्वय कृष्णा अभिषेक र चन्दन प्रभाकर फर्किएनन्।
कृष्णाले च्यानलसँग पारिश्रमिकको कुरा नमिलेका कारण कार्यक्रममा नफर्किएको बताएका छन् भने चन्दनले केही नयाँ काम गर्ने भन्दै छाडेको बताएका छन्।
अब कार्यक्रम केही समय बन्द भएर पुनः प्रसारण हुँदा उनीहरू फर्किन्छन् कि भन्ने आशा भएको दर्शकहरूले सामाजिक सञ्चालहरूमा लेखेका छन्। तर यसबारे यकिन छैन।
'द कपिल शर्मा शो' सन् २०१६ मा पहिलोपटक प्रसारण भएको थियो। सन् २०१७ मा कपिलको सुनील ग्रोवर र अली असगरसँगको विवादले कार्यक्रम रोकिएको थियो। त्यो बेला रोकिएको कार्यक्रम अर्को सालदेखि मात्र प्रसारण भयो।
'द कपिल शर्मा शो' सलमान खान टेलिभिजन र बनिजय एसियाले निर्माण गरेको हो।