1681725151.jpg)
काठमाडौं, वैशाख ४ । नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमती तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको विषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको फिल्मले आम नेपाली युवाको पीडा बोलेको छ ।
संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका विशाल पहाडी सरकारी अधिकृत छन् । फिल्मले सरकारी जागिरको कुरा मात्र होइन, नेपाली जनजीवनका विविध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ ।
नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी, कर्मचारीको घुस्याहा मनोबृति, लोकसेवा पास गर्न आर्थिक चलखेल, प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न विविध हतकण्डा अपनाउने डन गिरी लगायतका विविध विषयलाई समेटेको छ । हाँसो, रोमान्स, यथार्थता तथा सेन्टिमेन्टस्को समेत समुचित संयोजन रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । उनले यसअघि निर्देशन गरेको डेब्यु फिल्म ‘अमेरिका ब्बाइज’ ले पनि तारिफ पाएको थियो ।
नयाँ बर्षको पहिलो र दोश्रो दिन ‘बिहे पास’ ले देशभर हाउसफूलको व्यापार गरेको थियो भने त्यसपछिका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् । उनले आइतबारसम्मको व्यापारबाट आफूहरु नाफामा गइसकेको बताएका छन् ।
फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल, श्याम राई, बिशाल पहाडी, बुद्धि तामाङ, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेल, रुषा न्यौपानेलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्सनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानेकोको कोरियाग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।