Kath khabar
राति ८ बजेपछि मात्र निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना

 

                 काठमाडौं, वैशाख ४ ।  काठमाडौं महानगरपालिकाले पूर्वाधार निर्माण तथा मर्मत कार्यलाई रातको समयमा मात्रै गर्न निर्देशन दिएको छ ।

सार्वजनिक निकायले महानगरभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण, मर्मत लगायतका काम सकेसम्म राति ८ बजेपछि मात्रै गर्ने र गराउने व्यवस्था मिलाउन महानगरपालिकाले निर्देशन दिएको हो ।

महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

यस्तै, निर्माणस्थलमा घेराबार नलगाइ वा सङ्केत नराखि यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण जुनसुकै बेला उठाउने पनि महानगरपालिकाले चेतावनी दिएको छ ।  महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ ।

सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्य रुपमा निर्माणाधीन स्थल सङ्केत गर्न समेत महानगरले अनुरोध गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले जनाएको छ । सूचना अनुरसार काम नगरे ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने महानगरपालिकाको चेतावनी छ ।

kmc1681728209.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update