काठमाडौं, वैशाख ४ । काठमाडौंको रत्नपार्कमा रहेको शान्तिवाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच झडप भएको छ । सोमवार शान्तिवाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा त्यहाँबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडित एक सदस्यले बताए । उनले शान्तिपूर्ण रूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । उनले प्रहरीले प्रदर्शनकारी माथि दमन गरेको आरोप लगाए । आफ्ना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरिराख्ने उनले बताए ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिवाटिकामा नै प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार गरेको प्रदर्शनकारीले बताए ।
सरकारले मिटरब्याज पीडितको एक समूहसँग गएको चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । तर त्यो सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ ।