काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विरुद्ध दायर रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा तोकिएको छ ।
सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विरुद्ध सोमबार रिट दायर भएको थियो ।
रिटमा फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने उल्लेख छ । केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ । काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुन विपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्ने लगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।