काठमाडौं, वैशाख ५ । एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।
मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए । विरन्दिप सिंहले ४६, खिजर हयातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद आमिरले १७, मुहम्मद स्याहादतले १५, सइद अजीजले १३, विजय उन्नीले १२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३/३ विकेट लिए । ललित राजवंशीले २ र गुलशन झाले १ विकेट लिए ।
यो प्रतियोगिता एसिया कपको छनोट प्रतियोगिता हो । नेपाल सहित मलेसिया, सिंगापुर, हङकङ, कुवेत, युएइ, ओमन, कतार, बहराइन र साउदी अरेबिया गरी १० टिम सहभागी यो प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा सहभागी हुन पाउनेछन् ।
एसिया कपमा ६ टिम सहभागी हुनेछन् । एउटा समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । अर्को समूहमा भारत र पाकिस्तान छन् । यो समूहको तेस्रो टिम छनोट हुन बाँकी छ । नेपालमा अहिले जारी प्रतियोगिताको विजेता भारत र पाकिस्तान भएको समूहमा तेस्रो टिमको रुपमा छानिनेछ ।
यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ । नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।
सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।