काठमाडौं, वैशाख ६ । सिंहदरबार, बालुवाटार, शीतल निवास लगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ।
उक्त मुद्दाको सुनुवाइ बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको हो। यसअघि मंगलबार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।
रिटमा फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने उल्लेख छ। केन्द्र सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ। काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको ११ दिन बितिसकेको छ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुन विपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्ने लगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा आज सुनवाई हुन लागेको हो।