काठमाडौं, वैशाख ६ । शहीद स्मारक 'ए' डिभिजन लिगमा जावलाखेल युथ क्लबले बुधबार विभागीय टोली नेपाल पुलिस क्लबमाथि गोलको वर्षा गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६-१ ले हरायो । पहिलो हाफमा १ गोल मात्र गरेको जावलाखेलले दोस्रो हाफमा गोलको वर्षा गरेको हो । जावलाखेलका लागि फोडे फोफानाले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा हिसुब थपलियाले ५०औं र ८२औं मिनेटमा गोल गरे । एनकोटो मासोबीले ६५औं र ७२औं मिनेटमा गोल गरे । अब्दुललाजिज निशोनवाबले ६५औं मिनेटमा गोल गरे ।
पुलिसका लागि मोसेस टिवुमले ८८औं मिनेटमा सान्त्वना गोल फर्काए । जितपछि १० खेलबाट जावलाखेलले २० अंक जोडेको छ । जावलाखेलले सातदोबाटोमाथि ३ अंकको अग्रता बनाएको छ ।
सातदोबाटोले १ खेल खेल्न बाँकी छ । सातौं हार बेहोरेको पुलिस १० खेलबाट ५ अंकसहित अंक तालिकाको पुछारमै छ ।