काठमाडौं, वैशाख ७ । सन् २०२३ को पहिलो सूर्यग्रहण आज बिहान ७ बजेर ५५ मिनेटबाट सुरु भएको छ । यो पहिलो पटक अष्ट्रेलियामा देखिएको थियो। फिलिपिन्स, इन्डोनेसिया लगायत धेरै देशका मानिसले यो सूर्यग्रहण देखेका छन् । तर, नेपालमा ग्रहण देखिएको छैन । यो कंकणाकृति सूर्यग्रहण हो जसलाई मिश्रित सूर्यग्रहण पनि भनिन्छ।
ज्योतिष शास्त्रमा ग्रहणलाई अशुभ घटनामा गनिन्छ । सुतक अवधि ग्रहणको समयभन्दा अघि सुरु हुन्छ। सुतक अवधिमा कुनै पनि शुभ कार्य र पूजा गर्न निषेध गरिएको छ। जसका कारण यस समयमा शुभ कार्य र पूजा गर्न निषेध गरिएको छ ।
नेपालमा सूर्यग्रहणको प्रभाव नदेखिने भएकाले यसको सुतक अवधि पनि लाग्ने छैन । त्यसैले देशका सबै मन्दिरमा पूजा आराधना भइरहेको छ । आज मातातीर्थ औंसी भएकोले पूजा आराधना सामान्य दिनभन्दा बढी छ । सूर्यग्रहणमा सूर्यलाई चोट लाग्ने विश्वास गरिन्छ। शास्त्रमा ग्रहणलाई शुभ मानिएको छैन ।
तपाईंले सूर्यग्रहण नासाको युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ, जसको लाइभ स्ट्रिमिङ नेपाली समय अनुसार बिहान ८ बजेबाट सुरु भएको छ। यसबाहेक टाइमएण्डडेट डटकम मा गएर सूर्यग्रहण प्रत्यक्ष हेर्न सक्नुहुन्छ। ग्रहणको लाइभ स्ट्रिमिङ वेबसाइट र युट्युब च्यानल दुवैमा हुनेछ। यो वेबसाइट ग्रहण हेर्नको लागि सबैभन्दा भरपर्दो अनलाइन प्लेटफर्म हो।
सूर्य ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिङ्गापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्युजिल्याण्डमा देखिने छ ।
यस वर्ष आज सहित असोज २७ गते र चैत २६ गते सूर्य ग्रहण लाग्दैछ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने समितिले जनाएको छ । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिने समितिले जनाएको छ ।