काठमाडौं, वैशाख १० । एसीसी मेन्स प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सिङ्गापुरलाई हराएको छ । आज आइतवार भएको खेलमा यूएईले सिङ्गापुरलाई २0१ रनको भारी अन्तरले हरायो ।
यूएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिङ्गापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रनमात्र बनाउन सक्यो । सिङ्गापुरका मनप्रीत सिंहले ६६ र थिलिपन ओमाइदुराईले ५२ रन बनाए । यूएईका आयन अफजल खान, कार्तिक मय्यप्पन र सञ्चित शर्माले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै ४ सय ७१ रनको विशाल योगफल बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक १ सय ७४ रन बनाए । उनले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको मद्दतमा १ सय ७४ रन जोडे । यस्तै कप्तान मुहम्मद वसीमले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा १ सय ६० रन बनाए । यस्तै आयन अफजल खानले ५० बलमा ७४ रन बनाए । सिङ्गापुरका आदित्य भर्गवले ४ र रमेश कलिमुथीले ३ विकेट लिए ।
यो जितसँगै समूह 'बी' मा रहेको यूएई ३ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सिङ्गापुरमा ३ खेलमा अङ्कविहीन हुँदै अन्तिम स्थानमा छ ।
एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।