Kath khabar
मौलाकाली केबलकारको औपचारिक उद्घाटन वैशाख १८ मा प्रधानमन्त्री प्रचण्डबाट हुने



                 काठमाडौं, वैशाख ११ । मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो ।

केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । केबलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ ।

केबलकारको माथिल्लो स्टेसनमा सुविधा सम्पन्न ६० रुमको होटल, ब्याङ्क्वेट हल र रेष्टुरेन्ट सञ्चालनमा रहने छन् । केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ । नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ ।

त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रा.लिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रूपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update