Kath khabar
गोकर्णेश्वरमा पाँच दिनसम्म चल्ने कान्तिभैरव जात्रा सम्पन्न



                काठमाडौं, वैशाख ११ । गोकर्णेश्वर नगर क्षेत्रको लिच्छवीकालदेखि चल्दै आएको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको कान्तिभैरव जात्रा सम्पन्न भएको छ ।

वैशाख कृष्ण चतुर्दशी (आमाको मुख हेर्ने दिनदेखि वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया) ५ दिन सम्म चल्ले यो जात्रा श्रीभैरव, श्रीकुमार र श्रीगणेशको मूर्तिलाई आकर्षकरूपमा सिङ्गारी तीनतले खटमा विराजमान गराई तीनवटा रथलाई धार्मिक विधिपूर्वक पूजा–आजा गरी, बाजागाजा, गीत र नाचगानकासाथ टोल परिक्रमा गरी आइतबार भैरवकान्ति जात्रा सम्पन्न भएको हो ।

वैशाख कृष्ण चतुर्दशीका दिन जात्रा क्षेत्रमा सरसफाई ध्वजापतकाले शहरलाई सिंगारगरी गरी मध्यरातमा श्रीभैरव, श्रीगणेश र श्रीकुमारको तान्त्रिक विधिअनुसार पूजा गरी जात्रालाई जगाउने प्रचलन रहेको र तीनै देवताका रथलाई पुनः सिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा परिक्रमा गरी न्छ । औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमार एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि क्रान्ति भैरव वैशाख शुक्ल प्रतिपदाका दिन पूजा गरेपछि मात्रै रथ उठाइने वडा अध्यक्ष जयराम महतले बताउनुभयो ।  

आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पुर्याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास रहेको छ । रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटी लगायतका स्थानमा पनि बलिसहित पूजा गरी न्छ। सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात लाछीमा लगी राखिन्छ । श्रीगणेश र श्रीकुमारको रथ पनि त्यहाँ सिङ्गारेर राखिएको हुन्छ ।

चतुर्दशीका दिन बिहान गुठियारले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगेर राख्छन । गुप्ती गणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ। निकालिएको मूर्तिलाई गुठियारबाट बलि चढाइ पूजा गरी न्छ । स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिङ्गारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइ बाजा बजाई हर्षबढाइँ गरी न्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा परिक्रमा गरी ने प्रचलन रहेको वडाध्यक्ष महतले बताउनुभयो ।

भातको देवता अर्थात भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक/एक पाथीे भातको देवता बनाउँछन् । पाक्दापाक्दैको भातलाई झिकेर गुठियारले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको महतले बताउनुभयो ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्राको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन्। जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको छ ।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पुर्याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागीबीचमा तछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ । गोकर्णेश्वर नगरपालिका ४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइने प्रचलन छ ।

यसपछि ध्वजा भएको बाँसको टुप्पाले रथको गजूरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ। यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयले आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन समेत भएको उहाँले बताउनुभयो ।

वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ। वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुने उहाँले बताउनुभयो । ।

जात्रा सञ्चालनका लागि लिच्छविकालदेखि गुठीको व्यवस्था गरी एकामा पनि हाल गुठी मासिएपछि गोकर्णेश्वर नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेको अध्यक्ष महतले बताउनुभयो । जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा एतिहाँसिक महत्वको परम्परा धान्न मुश्किल परेको गुठियारको गुनासो रहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update