Kath khabar
८ पटक च्याम्पियन मनाङ लगातार पाँचौं खेलमा पुलिस क्लबसंग १-० गोलले पराजित 

 

                काठमाडौं, वैशाख १२ ।  ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सिजनको शहिद स्मारक 'ए' डिभिजन लिगमा लगातार पाँचौं खेलमा पराजित भएको छ। मनाङलाई मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले १-० गोलले पराजित गर्‍यो।

पुलिसको जितमा खेलको सातौं मिनेटमा मोहमद असिकले पेनाल्टी मार्फत् गोल गरेका थिए। जारी सिजनमा पुलिसको यो दोस्रो जित हो। पूर्व च्याम्पियन पुलिस ६ अंक जोडेर अंक तालिकाको पुछारमा छ।

यता खराब लयबाट गुज्रिरहेको मनाङ लिग इतिहासमा पहिलो पटक लगातार ५ खेलमा पराजित भयो। २०४३ साल देखि 'ए' डिभिजन लिग खेल्न थालेको मनाङले इतिहासकै खराब प्रदर्शन गर्ने क्रममा लगातार ५ पराजय भोगेको हो।

अघिल्लो खेलमा मनाङ माथि एफसी खुमलटारले २-१ गोलको जित हात पारेको थियो। त्यसअघि मनाङलाई सातदोबाटो, त्रिभुवन आर्मी र जावलाखेलले पराजित गरेका थिए। पछिल्ला ५ खेलअघि भने मनाङ अपराजित थियो। मनाङ १२ खेलबाट १५ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा छ।

यता दशरथ रंगशालामा भएको खेलमा एनआरटीमाथि फ्रेन्ड्स क्लबले ३-१ गोलको जित हात पारेको छ। फ्रेन्ड्सको जितमा रफिक अमिडुले १४, टोरिक हेबरिनले पहिलो हाफको इन्जुरी टाइम र प्रकास बुढाथोकीले ७६ मिनेटमा गोल गरे।

एनआरटीका लागि सन्जिव विष्टले ४० मिनेटमा गोल गरे। फ्रेन्ड्स अंक तालिकामा १४ अंक जोडेर दशौं स्थानमा छ। एघारौं स्थानमा झरेको एनआरटीको १३ अंक छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update