Kath khabar
चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई

 

               जुम्ला, वैशाख १३ ।  चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीको जुम्ला-रारा म्याराथन दौडको उपाधि पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जूले जितेको हो ।  

कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार  गरी प्रथम भए भने ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा पार गरी जुम्लाकै धीर बुढा दोस्रो र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुढा तेस्रो भए । यस्तै ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा पार गरेर बहादुर रावतले पाचौँ स्थान प्राप्त गरे ।

महिलातर्फ पहिलो भएकी मञ्जू रावतले निर्धारित दुरी  ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा पार गरिन् । ६ घण्टा ५४ मिनेट २७ सेकेण्डमा दुरी पार गरेकी गंगा भण्डारी दोस्रो र ७ घण्टा ५ मिनेट ४६ सेकेण्डमा पार गरी अनिता बुढा तेस्रो भइन् । ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डमा उक्त दुरी पार गदै उमाकली बुढा चौथौँ र ७ घण्टा ५९ मिनेटमा पार गदै कुसाबुढा रोकायाले पाचौँ स्थान प्राप्त गरिन् । प्रतियोगिताको उपाधि जित्ने पुरुष, महिला सबै जना जुम्लाकै हुन् । 

४९ किमी जुम्ला-रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद १ लाख , ७५ हजार, ५० हजार रुपैयाँ र चौथौँ र पाँचौँ हुने खेलाडीले २०/२० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरूले समुद्री सतहदेखि ३ हजार ६०० मिटर उचाइमा दौडेका हुन् । विजेताहरुलाई मंगलबार बिहान रारा तालको किनारमा औपचारिक कार्यक्रम गरि पुरस्कार प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।

कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने उद्देश्य सहित हरेक वर्ष कर्णाली खेलकुद क्लबले म्याराथनको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update